मुख्य-2 विचार विविध

बर्दिबास महोत्सवमा प्रमुख अतिथिको झमेला

राजकरण महतो
बर्दिबासमा चैत्र ८ गतेदेखि १८ गतेसम्म ‘दोस्रो बर्दिबास महोत्सव’ आयोजन हुन गइरहेको छ । महोत्सवको नेतृत्व बर्दिबास उद्योग वाणिज्य संघले गरेको छ । जती खुशी छन् महोत्सवका आयोजक वाणिज्य संघ त्यो भन्दा दवाब छन् कि कसलाई उद्घाटन कार्यक्रमको प्रमुख अतिथि बनाउने ।
वाणिज्य संघ स्वतन्त्र व्यपारीहरुको छाता संगठन हो । तर, संघका पदाधिकारीहरुमाथि राजनितिक दवाव उतिकै छ । उसले महोत्सव उद्घाटनको प्रमुख अतिथि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबाट गराउन निर्णय गरेको छ । निम्तो पनि गरिसकेको छ । तर, नेकपा भने उद्योग बाणिज्य संघकोे निर्णयमा आपती जनाएका छन् ।
महोत्सव संचालनको लागि गठन गरिएको सल्लाहकार समितिका सदस्यहरु पार्टी प्रभावमा परेका छन् । आयोजक समितिले प्रमुख अतिथि बनाउन आफुहरुसंग सल्लाह नगरेको भन्दै सल्लाहकार समितिका सदस्यहरु नै दलिय खेमा विभाजित छन् । प्रमुख अतिथिको बिषयमा उत्पन्न विवादको बिषयमा आइतबार राजनितिक दलहरु सहितको बैठक बसाउन लागिएको छ ।
बर्दिबासमा स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनावमा आफ्नो बहुमत बनाएका नेकपाले यहाँबाट जितेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल, राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहालबाट महोत्सवको उद्घाटन गराउनु पर्ने दवाव दिएका छन् ।
स्थानीय तहमा जनप्रतिनिधि नआउँदै केही बर्ष अघि बर्दिबासलाई खुल्ला दिसामुक्त घोषणा गर्ने कुरा थियो । त्यसमा कसलाई प्रमुख अतिथि बनाउने बिषयमा ठूलो विवाद चल्यो । बर्दिबास नगरपालिकाको कार्यकारी अधिकृत रामकुमार कार्की थिए । प्रमुख अतिथि कसलाई बनाउने भन्ने बिषयको बैठकमा उहाँले मलाई एक पत्रकारको हैसियतमा आमन्त्रित गर्नु भएको थियो । बैठक माइस्थान मन्दिरमा बसेको थियो । कसैले खानेपानी तथा सरसफाई मन्त्री ल्याउने भने, कसैले आफ्नै ठाउँबाट निर्वाचित प्रतिनिधि हालका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रिलाई ल्याउने भने ।
सात बर्ष अघिको कुरा हुनु पर्छ जस्तो मलाई लाग्छ, बर्दिबासका युवाहरुले चन्दा संकलन गरे बहुउपयोगी भवन निर्माण गरे । त्यसको उद्घाटन तत्कालिन राष्टिपति डा. रामवरण यादवबाट गराउने बर्दिबास सेवा समितिले महौल बनायो । उद्घाटनको लागि सबै चाँजोपाँजो मिलायो । अन्तमा आएर राष्टिपति नआउने काठमाण्डौंबाट आयोजकलाई सूचना आयो । किन राष्टिपति नआउने भन्ने बिषयमा आयोजकले खोजी गरे । उत्तर आयो,बर्दिबासमा राष्टपति आए राजनिति दलले विरोध गर्छ भनेर सूचना आएकोले राष्टपति आउने कार्यक्रम रोकियो । कडा परिश्रम गरेर बहुउपयोगी हल बनाएका युवा राष्टपति नआउने कार्यक्रमले निरास बने । कांगे्रेसी नेताहरु राष्टपतिको बर्दिबास आउने कार्यक्रम रोकाएको गाइगुई कुरा चल्यो । उद्घाटन कार्यक्रमको प्रमुख अथिति बनाउने बिषयमा राजनिति दलहरुलाई आयोजकले सल्लाह नगरेको भन्दै नेताहरुकै विरोधले आज सम्म फेरी बर्दिबास सेवा समितिको पहलमा निर्मित बहुउपयोगी भवन अहिले सम्म उद्घान हुन कसेको छैन ।
बर्दिबासका संघसंस्थाले आयोजन गर्ने आफ्ना सार्वजनिक कार्यक्रममा राजनितिक दलहरुले कि आफ्ना दलका नेतालाई प्रमुख अतिथि बना नत्र कार्यक्रम हुनै नदिने अडान राख्छन् । अन्तमा केही खोट नभेटिए कार्यक्रम आयोजनको बिषयमा राजनिति दलकहरुलाई किन नसोधेको भन्दै विरोधमा उत्रिन्छ । आयोजकहरुलाई कार्यक्रम सम्पन्न गर्न गलाउँदै आएका छन् ।
बर्दिबासमा चैत्र ८ गते देखि हुन गइरहेको महोत्सवमा राजनीतिक दलका कार्यकर्ताहरुले आफ्ना नेतालाई प्रमुख अतिथि बनाउन चलखेल गरिरहेका छन् । नेकपाले आफ्ना केन्द्रीय नेताबाट महोत्सवको उद्घाटन गर्न आयोजक उद्योग वाणिज्य संघलाई दवाव दिइरहेका छन् । आयोजकले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाइ प्रमुख अतिथि बनाएर महोत्सव उद्घाटन गराउने निर्णय गरिसकेको छन् ।
महोत्सव उद्घाटनको दिन नजिकिसकेको छ । आयोजकलाई कसरी सफल बनाउने भन्ने पिरलो छ । उता पार्टीवलाहरु झण्डाको प्रतिस्पर्धामा छन् । किन स्वतन्त्र संस्थाहरुमा राजनितिक प्रभाव हावी हुन्छ, किन कसैले कसैलाई गन्दैन, किन आफ्नो दुनोमात्रै सोझियाउन खाजिन्छ यहाँ, किन अरुलाई गलत देखाएर आफू ठीक बन्न चाहन्छन्, किन अरुलाई पनि अघि बढ्न अवसर दिन चाहदैंन, यि र यस्ता तमाम प्रश्नहरु बर्दिबासमा हुन गइरहेको महोत्सवको उद्घाटन सत्रको प्रमुख अतिथि कसलाई बनाउने भन्ने बिषयमा भइरहेको घोंचपेच, खिचातानीले उब्जाएको छ ।
धेरै यस्ता कार्यक्रमहरु प्रोटोकल र प्रमुख अतिथिको विवादको कारणले गर्दा आयोजकलाई कार्यक्रम भव्य र सभ्य बनाउन हम्यहम्य पर्छ । राजनितिक दलहरुलाई लिएर हिड्नु पर्छ । राजनितिक दहरुले पनि संघ संस्थाहरुलाई सहयोग गर्नु पर्छ । तर, सबै कुराको निर्णय संघसंस्थाहरुले राजनितिक दलहरुलाई नै सोधेर गर्नु पर्छ भन्ने छैन । आयोजक संघ संस्थाले पनि आफ्ना विवेक प्रयोग गर्छन् । हो त्यही विवेक बर्दिबास उद्योग वाणिज्य संघले प्रयोग गर्दै उसले आफ्नो नेतृत्व गर्न लागेकोे महोत्सको प्रमुख अतिथिको टुङ्गो लगाएको छ ।
मैले बर्दिबासमा आयोजन हुने प्रायः कार्यक्रमको प्रमुख अतिथि तत्कालिन मओवादी र हालका नेकपाका उच्च तहका नेताहरु मात्रै बनेको देख्छु । के सधैं नेकपाकै नेताहरु कार्यक्रमको केन्द्रविन्दु बन्छन, के उनीहरुको भाषण हामीले मात्र सुन्नु पर्ने, के अन्य पार्टीका नेताहरुको अनुहार यहाँ हुने औपचारीक कार्यक्रममा नागरिकले देख्नै नपाउने । नेकपा भन्दा बाहिरका नेताहरुको उपस्थितमा हुने कार्यक्रमको विरोध गरि हाल्ने यि र यस्ता प्रश्न अहिले चिसा पसलमा प्रसस्त सुन्न पाइनछ । स्थानीय सरकारले आयोजन गर्ने कार्यक्रममा सकेसम्म जनप्रतिनिधि बाहेक विपक्षी दलका नेताहरुलाई आमन्त्रण नै नगर्ने र गरि हालेपनि उनीहरुलाई बोल्न पनि नदिने, यस्तो कहि हुन्छ । यसैलाई मैथिलीमा भनिन्छ,‘ दोसरके खाई ढोल बजाक, अपन खाई टाटी लगाके’ अर्थात अरुको खाने बेलामा ढोल बजाएर खाने, आफ्नो बेलामा दैलो थुनेर खाने ।
यस्तो अवस्थाको अन्त्य हुनै पर्छ । नेकपाका नेताहरुले सबै औपचारिक कार्यक्रममा आफ्ना पार्टीका नेतालाई मात्र ल्याउनु पर्ने अडानबाट पछी हट्नै पर्छ । बर्दिबासका कार्यक्रममा सबै पार्टीका नेताहरुले जति स्थान पाउँछन्, उनीहरुको उपस्थितिले पक्कै पनि बर्दिबास ठाउँको प्रचारप्रसारमा टेवा पुग्छ । एक जना पार्टीका नेतालाई सधैं यहाँ हुने कार्यक्रमको प्रमुख अतिथि बनाएर मात्रै हुदैंन । सकेसम्म प्रत्येक कार्यक्रममा फरक फरक र बिषयसंग सम्बन्धित उच्च तहका नेताहरुलाई बर्दिबास ल्यानु पर्छ । यस्ता कुरामा सबै एक भएर लाग्नु पर्छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल, राष्ट्रिय उपाध्यक्ष शशिकला दाहाल, प्रदेश सांसद सारदा देवी थापा हाम्रो घर आगनको हुनुहुन्छ । उहााहरुप्रति हाम्रो सम्मान छ । उहाँहरुले बर्दिबासका कार्यक्रममा राष्टपति, उपराष्टिपति, प्रधानमन्त्री, अन्य मन्त्रिहरुलाई ल्याएर आफ्ना गाउँ ठाउँका समस्या, विकास निर्माण बारे अवलोकन गराउन सक्नु पर्छ । उहाँहरुलाई त्यही भएर यहाँ जनताले पटक पटक प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग गर्दैं आइरहेको छ । बर्दिबासको विकासमा उहाँहरुको योग्दान सराहनिय छ ।

बर्दिबासमा हुने औपचारीक कार्यक्रममा बिषय अनुसारको कार्यक्रमसंग मेल खाने, धेरैभन्दा धेरै फाइदा हुने र यहाँको बढी भन्दा बढी प्रचारप्रसार हुने उच्चओहदाका सम्मानित व्यक्तिहरुलाई कार्यक्रमको प्रमुख अतिथि बनाएर बर्दिबासमा ल्यानु पर्छ । म त भन्छु, ‘अब हुने कार्यक्रमहरुको प्रमुख अतिथि कार्यक्रममा उपस्थित हुने आजका सम्पूर्ण सहभागिहरु यस कार्यक्रमको प्रमुख अतिथि हो भनेर घोषणा गर्नु पर्छ ।’
सधैंकोे लागि प्रमुख अतिथिको झण्झट कमसे कम अन्त्य हुनेछ । यदि यसो गर्न सक्दैनौं भने कार्यक्रमको मर्म अन्ुसारको प्रमुख अतिथि बनाऔं । राजनितिक दल र आयोजकहरुले यसलाई बुझुन ।
सकेसम्म ओज भएका उच्च तहका व्यक्तिहरुलाई बर्दिबास ल्याउन सकेमा हाम्रो लागि हरेक कार्यक्रम फलदायी पक्कै पनि हुने छ । कुनै पार्टीले हाम्रो नेता ल्याउ भनेर आयोजकलाई दवाव नदिऔं । र आयोजकले पनि आफ्नो कार्यक्रममा मर्म अनुसारको प्रमुख अतिथि बनाउन । म त फेरी भन्छु, अबको औपचारीक कार्यक्रमहरु लम्बेतान सम्बोधन र प्रमुख अतिथि विहिन हुनु पर्छ ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *