मुख्य-1 राष्ट्रिय

वीरगञ्जको एभिन्यूज कार्यालयमा समाजवादी पार्टीद्वारा तोडफोड, महासंघद्वारा कार्वाहीको माग

वीरगञ्ज, वैशाख ३० गते ।

वीरगञ्जमा रहेको एभिन्यूज टेलिभजिनको ब्युरो कार्यालयमा तोडफोड भएको छ । दिउँसो १ बजेतिर मोटरसाइकलमा आएका आधा दर्जन यूवाहरुले एभिन्यूज टिभीको वीरगञ्ज श्रीपुर स्थित स्टुडियो समेत रहेको ब्युरो कार्यालयमा तोडफोड गरेका हुन् ।

उनीहरुले कार्यालयको बाहिर रहेको टिभी च्यानलको होर्डिग बोर्ड च्यातेर फाल्नुका साथै भित्र पसेर स्टुडियो र रिसेप्सनको सिसासमेत फुटाएका छन् । कार्यालय तोडफोड गर्नेहरुको सिसिटिभी क्यामेरामा भिजुअल फुटेज रेकर्ड रहेकोले उनीहरुको पहिचान खुलेको भएपनि प्रहरीले कानूनी दायरामा ल्याउन सकेको छैन । काठमाडौंमा रहेको एभिन्यूज टेलिभजिनबाट आइतबार साँझ प्रसारित समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अन्तर्वार्ताको विषयलाई लिएर वीरगञ्जस्थित ब्युरो कार्यालयमा समाजवादी पार्टीका कार्यकर्ताहरुले तोडफोड गरेको दाबी रहेको छ ।

एभिन्युज टेलिभिजनको कार्यालयमा तोडफोड भएको घटनाप्रति नेपाल पत्रकार महासंघ प्रदेश २ शाखाले घोर भत्र्सना गरेको छ । महासंघ प्रदेश २ का महासचिव किरणकुमार कर्णले जारी गरेको विज्ञप्तीमा घटनाप्रति घोर भत्र्सना गर्दै उक्त घटनामा संलग्नहरुलाई कानुनी दायरमा ल्याएर दण्डित गर्न सरकारसंग माग गरिएको छ ।

‘लोकतान्त्रिक बिधि र प्रक्रियाको बर्खिलाप हुने गरि हिंसायुक्त संस्कृतिलाई प्रश्रय दिने नियतका साथ गरिएको यस्तो कामको नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ घोर निन्दा गर्छ ।’ विज्ञप्तीमा लेखिएको छ ‘ त्यसैले हिंसा र अराजकतालाई बढावा दिने संस्कृतिलाई बढ्न नदिन तोडफोडको घटनामा संलग्नलाई तुरुन्त कानूनी कारवाहीको दायरामा ल्याउन सम्बन्धित निकायसंग जोडदार माग गर्दछौँ ।’

यस्तै नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराले एभिन्यूज टेलिभिजनको कार्यलयमा तोडफोड भएको घटना प्रेस माथिको नाङ्गो आक्रमण भएको बताएका छन् । उनले तोडफोडमा संलग्नलाई पक्राउ गरी अविलम्व कारवाहीको माग एक विज्ञप्ती मार्फत गरेका छन् ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *