मुख्य-1 समाज

अनैतिक सम्बन्ध नराख्दा मकै चोरेको निहुँमा कुटपीट गरेको आरोप

शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, जेठ १ गते ।

महोत्तरीको भंगहा नगरपालिका ९ कञ्चनवनमा एक दलित महिला कुटिएकी छन् । दुई छोरीसहित माइतमा बस्दै आएकी स्थानीय २७ वर्षकी अञ्जु बाँतरमाथि स्थानीय २८ वर्षका प्रदीप राउतले कुटपीट गरेका हुन् ।

प्रदीपले फोनमा पटक पटक अनैतिक सम्बन्ध राख्न प्रस्ताव गरेको तर अस्वीकार गरेपछि मकै चोरेको निहु बनाएर घरमै आएर कुटपीट गरेको अञ्जुको आरोप छ । पतिले तीनवर्ष अघि छाडेर अर्कैसंग हिडेपछि २ छोरीसहित अञ्जु माइतमा शरण लिनुभएको छ ।

‘घरमै कोल्डस्टोर र रक्सी बेच्दै आएका प्रदीपले मलाई पटक पटक फोन गरी नागरिकता बनाइदिन्छु, कोल्ड ड्रिंक खुवाउँछु लगायतको प्रलोभन दिँदै अनैतिक सम्बन्ध राख्न दबाब दिए’ पीडा सुनाउँदै अञ्जुले भन्नुभयो ‘मैले पटक पटक उसलाई हप्काउँदै अस्वीकार गरे । र आयिन्दा फोन नगर्न आग्रह गर्दा उसले घरमै आएर कुट्छु, कसैले केहि गर्न सक्दैन भन्दै विभिन्न धाकधम्की समेत दिन थाले । र वैशाख १६ गते साँझ खेतमा मकै चारेको निहु बनाएर घरमै आएर मलाई कुटपीट गरे, टाउको फुटाइदिए ’

कुटपीटपछि अञ्जुले न्याय र दोषीलाई कार्वाहीको लागि महोत्तरी जिल्ला प्रहरी कार्यालयमा कुटपीटसम्बन्धी निवेदन समेत दिनुभएको छ । तर अहिलेसम्म दोषीलाई पक्राउ गरी कार्वाही प्रक्रिया अघि बढाउनुको साटो प्रहरीले उल्टै घटनामा मिल्न दवाव दिएको र कुनै मतलब समेत नगरेको अञ्जुको गुनासो छ ।

‘ प्रहरीचोकीमा जाँदा प्रहरीले तिमी दलित गरिब छौं, मुद्दा लड्न सक्दैनौ । ५ लाख १० लाख रुपैयाँ खर्च लाग्छ भन्दै मिल्न भन्छ’ अञ्जुले भन्नुभयो ‘के हामी दलित र कमजोरले न्याय नपाउँने ?’ उहाँले न्यायको लागि पहल गरिदिन सबै पक्षसंग आग्रह गर्नुभएको छ ।

यता कुटपीट आरोपी प्रदीपले आफुमाथि अञ्जुले लगाएको आरोप निराधार रहेको र केहि व्यक्तिको उक्साहटमा आफुलाई फँसाएर बद्नाम गराउन खोजेको दावी गर्नुभयो । ‘म सानो पसल थापेर गुजारा गर्दैछु । मेरो खेतबाट अञ्जुले मकै र खुर्सानी चोरेर लगेको थाहा पाएपछि मैले उसको दरबाजामा सतर्क गराउन गएको थिएँ । मैले हात पनि छोडेको छैन’, आरोपी प्रदीपले भन्नुभयो ‘पटक पटक फोनमा अनैतिक सम्बन्ध राख्न दबाब दिएको कुरा मैले सोँच्न समेत सक्दिन । हैन भने मेरो कलडिटेल चेक गर्दा हुन्छ ।’

स्थानीय केहिले भने मकै चोरको विषयमा गुनासो गर्न जाँदा अञ्जुर र उसीक आमाले गालीगलौज गर्दा आवेशमा प्रदीपले एकदुई थप्पड हिड्काएको हुन सक्ने बताएका छन् ।
यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले कुटपीट सम्बन्धी निवेदन दिएको बताउनुभयो । निवेदनमा अनैतिक सम्बन्धी वेहोरा नखुलाएकाले दुवै पक्षलाई छलफलको लागि बोलाएको तर अञ्जुको पक्ष उपस्थित नभएको दावी गर्नुभयो ।

शैलेन्द्र क्रान्ति
उहाँ टुडेपाटी प्रतिनिधि हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *