TodayPati

जनकपुरको बजारमा दोब्बर भन्सार तिरेर ३ करोडको केरा भित्र्याइयो तर चौपट छ व्यापार

नितेश यादव–

जनकपुरधाम, मंसिर ४ गते ।

निष्ठाको पर्व छठमा केराको विशेष महत्व मानिन्छ । तर तराई–मधेशमा छठ पर्व विधिवत रुपमा सुरु भएपछि केरा व्यवसायी भने चिन्तित देखिएका छन् । ३२ वर्षदेखि छठ पर्व नजिकदा जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थामा केराको व्यवसाय सञ्चालन गर्ने जगदिश साह व्यापार गरेर पश्चताप गर्दैछन् ।

Sponsored

अन्य सिजनमा उनले मिठाई बेच्ने काम गरेपनि उनको काका–काकी पहिलादेखि नै छठको समयमा केरा बेच्ने काम गर्दै आएकोले जगदीश पनि काका–काकीसँगै पहिलादेखि नै केरा बेच्ने गरेका छन् ।

मंसिरभर नेपाल भारत सिमानाका बन्द गर्ने निर्णय गरेपनि कुनै–कुनै नाका सर्त बमोजिम खोल्न दिने निर्णय गरेको हुँदा जगदीशसहित जनकपुरका अधिकांश केरा व्यापारीले भारतको विभिन्न स्थानबाट केरा खरिद गरी जनकपुरधाममा केरा व्यवसाय सञ्चालन गरेका छन् ।

तर अपेक्षित बिक्रि नहुँदा यसवर्ष सीमामा चर्को भन्सार लिएका कारण आफूहरु घाटामा जाने केरा व्यवसायीहरु बताउँछन् ।

Sponsored

‘अन्य वर्ष भन्दा यो वर्ष भन्सार हामीहरुलाई बढी तिर्नु परेको छ । एक ट्रक केराको अन्य वर्षमा ४०÷४५ हजार रुपैयाँ मात्र तिर्नु परेको थियो । तर, यसवर्ष कारणले हो एक ट्रकको ९० देखि ९३ हजार रुपैयाँसम्म भन्सार नै काटि दियो,’ केरा व्यवसायी जगदीशले टुडेपाटीसँग भने, ‘केरा खरिदमा पनि दोब्बर पर्यो, भन्सारमा पनि दोब्बर भाउ पर्यो यसले आफै बुझ्न सकिन्छ केरा व्यापारीको हाल के हुन्छ भनेर ।’

भारतको आसाम गोहाटी, सीतामढी, हाजीपुर लगायतका ठाउँबाट खरिद गरी चम्पा, बडहरी, मिरीचमान, गोपाल, रोहता, बन्सीबोट मालभोग लगायत भण्डै १२ किसिमका केराहरु आयात गरिएको व्यवसायी बताउँछन् । ‘४ सय साढे ४ सयमा किनेको छु यहाँ ३ सय साढे ३ सयमा बेच्नुपर्याछ,’ उनले थपे,‘गाडी भाडा पनि अर्को अरु वर्ष ४२ हजार लिन्थ्यौं यो वर्ष ५५ हजार लिएको छ । एक ट्रक केरा ३ लाख ४३ हजार भारतीय रुपैयाँमा किनेर ल्याएको छु । किनेर ल्याएको केरा शुक्रबार सम्म पुरै बिक्छ तर, हामीलाई घाटा ब्योहोर्नुपर्छ ।’

३२ वर्ष केरा व्यापारमा घाटा ब्यहोर्नुपर्ने अवस्था कुनै छठ पर्वमा नआएको उनी सुनाउँछन् । व्यापारमा घाटा नाफा हुनु कुनै नौलो कुरो होइन तर, योवर्ष सीमामा अन्य वर्षको तुलनामा दोब्बर भन्सार लिएका कारण यस्तो अवस्था आइपरेको जानकारी साहले दिए ।

जगदीशकै छिमेकी केरा व्यापारी हुन् जनकपुरधाम उपमहानगरपालिका १३ घर भएका रामकृपाल साह । हुन त उनी कानून व्यवसायी हुन् तर विगत ७ वर्षदेखि छठ पर्वमा मात्र जनकपुरधाम उपमहानगर २१ कुर्थामा केरा व्यवसायीपसल खोल्छन् ।

भारतको बंगाल राज्यको दाउललगरीबाट रामकृपालले पनि एक ट्रक केरा खरिद गरेर ल्याएका छन् । बोर्डरमा चर्को भन्सार असुली गरेका कारण केरा व्यापारमा घाटा लाग्ने उनको भनाइ छ ।

‘कोरोना महामारीको कारण ग्राहक जुट्न सकेका छैन । सरोकारवाला निकायले पनि स्वास्थ्य सुरक्षाको पालना, सामाजिक दूरी कायम गरी व्यापार व्यवसाय गर्न सुझाएको छ,’ उनले थपे, ‘भारतबाट झण्डै ६ लाखमा एक ट्रक केरा किनेर ल्याएको छु ।’

यसपालीको छठमा किन घट्यो केरा व्यापार ?

सरकारले कोराना महामारीका कारण गत वर्ष चैत ११ देखि करिब ६ महिना सम्म जारी गरेको लकडाउन तथा निषेधाज्ञाका कारण ग्राहकलाई आर्थिक समस्या भएकोले छठमा केराको व्यापारमा कमि आएको व्यवसायी रामकृपाल साह बताउँछन् ।

लकडाउनमा व्यापार व्यवसाय सबैको ठप्प भएकोले मानिसमा बेरोजगारी बढ्दा अहिले पर्वको बेला दुई घौर केरा किन्ने ठाउँमा एक घौरमा पर्व गर्ने गरेको साहले बताए ।

‘जस्तोसुकै समस्या आइपरेपनि व्रतालुले पर्व छोड्नलाई छोड्दैन तर जसलाई दुई घौर लिनुछ भने एकै घौर लिन्छ, जसलाई एक घौर लिनुछ भने आधा घौर मात्र लिएर पर्व मनाउने गरेको हुँदा केरा व्यापारमा कमि आएको छ,’ उनले टुडेपाटीसँग भने ।

कुनै व्रतालुले दुई घौर केरा चढाउने भाकल गरेका छन् भने उसले कसरी एकै घौर केरा चढाउँछ भन्ने टुडेपाटीको जिज्ञासामा रामकृपालले भन्छन्–‘व्यापार त कम छ, किनभने अन्य वर्षको अपेक्षामा पुरै न्यून अवस्थामा ग्राहक आएको केरा किन्न आएको देख्छु ।, अहिले त न व्यापारीलाई फुर्सद हुन्थ्यो न त ग्राहकलाई तर विडम्बना कस्तो छ भने मान्छे नै देखिरहेको छुईन बजारमा,’ अगाडि उनले टुडेपाटीसँग भने, ‘जसलाई एकदमै जरुरी छ दुई घौरको उसले राम्रो केराको ठाउँमा अलि नराम्रो नै दुई घौर किनेर घौर मात्र पुगाउने काम गर्छ । ५ सयको घौरको ठाउँमा २ सयको घौर किनेर लाने गर्छ ।’
जनकपुरमा ३ करोडको केरा आयात
जनकपुरमा यसवर्ष छठ पर्वका लागि नेपाल तथा भारतबाट करिब ६० ट्रक ३ करोड मूल्य बराबरको केरा आयात गरिएको फलफूल व्यवसाय समितिका पूर्व महासचिव भूवनेश्वर पुर्वेले बताएका छन् ।

‘पछिल्लो वर्षसम्म भारतको हाजीपुर, आसाम, समस्तीपुर, सीतामढीलगायतका क्षेत्रबाट आयात गरिन्थ्यो । तर यस वर्ष नेपालको नवलपरासीको त्रिवेणीबाट पनि केरा भारी मात्रामा आयात गरिएको छ,’ पूर्वेले थपे ।

भारतबाट करिब २ करोड मूल्य बराबरको आयात गरिएको छ भने नवलपरासीबाट एक करोड रुपैया बराबरको २१ ट्रक केरा छठ पर्वमा बिक्री गर्न आयात गरिएको उनले बताए ।

भारतबाट मगाउँदा सस्तो दर भएपनि भन्सार शुल्क, ढुवानी खर्च र विषादी चेकजाँच समेतमा ढुवानी खर्च बढ्न जाँदा नेपालको केरा महँगो भएपनि दुबैको मूल्य बराबर हुन गएको उनको भनाइ छ ।

गाउँ भन्दा बजारमा सस्तो केरा

छठ पर्वका लागि केरा खरिद गर्न गएकी जनकपुरधाम उपमहानगरपालिका–८ की पद्मा आर्चायले बजारमा केरा झुण्डिएपनि यो वर्ष आसाध्य महँगो रहेको बताइन् । पोहोर साल ३÷३ सय ५० मा किनेको केरा अहिले ६ सयमा किन्नु परेको उनले जानकारी दिँदै अगाडि भनिन्, ‘के गर्न जतिसुकै महँगो दिएपनि भगवानलाई त चढाउन परिहाल्यो नि ! व्यापारीलाई दोब्बर भन्सार लागेपनि नलागेपनि भनिहाल्छ, दोब्बर भन्सार नलागेको पनि भन्न सकिँदैन ।’

त्यस्तै, महोत्तरीको लोहाटपट्टी नगरपालिका–४ खुट्टापिपराढीकी नाम खुल्न नसेकेकी अर्की केरा ग्राहककी गुनासो फरक छन् । गाउँमा केरा महँगोमा पाउने भएकाले उनी केरा किन्न जनकपुरको केरा बजारमा देखापरिन् । उनी भन्छिन्–‘गाउँ भन्दा यहाँ कम्तीमा एउटा घौरमा सय रुपैयाँ सस्तो पर्ने गरेको छ । यो वर्ष ६ हत्ताको घौर ४ सयमा किनेको छु ।’

नितीश यादव

उहाँ टुडेपाटीका समाचारदाता हुनुहुन्छ । facebook भेट्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *