TodayPati

प्रदेश २ मा ५३ सहित देशभर आज ३ सय ९६ अस्पतालको शिलान्यास हुँदै, विरामीलाई यस्ता सुविधा दिइने

टुडेपाटी

जनकपुरधाम, मंसिर १५ गते ।

ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सरकारले आज प्रदेश २ सहित सातै प्रदेशमा एकैपटक तीन सय ९६ आधारभूत अस्पतालको शिलान्यास गर्दै छ ।

Sponsored

जहाँ ५, १० र १५ शय्याका अस्पताल निर्माण गरिनेछन् । सरकारले यसलाई स्वास्थ्य क्षेत्रमा ‘ठूलो क्रान्ति’ भनेको छ ।

स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक एवं आधारभूत अस्पताल शिलान्यास समन्वय समितिका संयोजक माधव लम्सालले स्वास्थ्य सेवामा अहिलेसम्मकै ठूलो काम हुन गइरहेको बताए ।

‘यसलाई स्वास्थ्य क्षेत्रमा क्रान्ति नै भन्दा हुन्छ । उपचारात्मक सेवामा यति ठूलो काम अहिलेसम्म भएको छैन,’ उनले भने । सबै स्थानीय तहमा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न आधारभूत अस्पताल निर्माण गरिन लागेको उनले बताए ।

Sponsored

अहिलेसम्म अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल बनाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसअन्तर्गत पाँच शय्याका ५२, १० शय्याका एक सय नौ र १५ शय्याका ३५ अस्पताल बनाइनेछन् । दुई वर्षभित्र सबै अस्पताल निर्माण गरेर सञ्चालन गरिसक्ने सरकारको योजना छ ।

संघीय मामिला मन्त्रालयका प्रवक्ता सहसचिव वसन्त अधिकारीका अनुसार तीन सय ९६ स्थानीय तहमा भवन निर्माणका लागि यो बर्ष ६ अर्ब १२ करोड २६ लाख निकासा गरिएको छ । अस्पताल निर्माण र उपकरण जडान गर्न करिब ५८ अर्ब खर्च हुने अनुमान छ । अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयले बजेटको सुनिश्चितता गरिसकेको छ ।

सबैभन्दा धेरै प्रदेश १ मा ८६ आधारभूत अस्पताल निर्माण गरिनेछन् । त्यस्तै, लुम्बिनीमा ५७, सुदूरपश्चिममा ५४, प्रदेश २ र गण्डकीमा ५३–५३, बागमतीमा ५१ र कर्णालीमा ४२ स्थानीय तहमा अस्पताल बनाइनेछन् । प्रदेश २ मा १० शय्याको १६, १५ शय्याको ३७ वटा अस्पताल शिलान्यास हुँदैछ । सोमबार नै सातवटै प्रदेशमा एक–एक सरुवारोग अस्पतालको पनि शिलान्यास गर्ने सरकारको तयारी छ ।

संयोजक लम्सालका अनुसार संघीय सरकारको सहयोगमा स्थानीय तहले नै अस्पताल निर्माण तथा सञ्चालन गर्नेछन् । आवश्यक जनशक्तिको मापदण्ड पनि तयार भइसकेको छ । ‘पाँच शय्याको अस्पतालमा एकजना मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी, १० शय्याको अस्पतालमा दुईजना मेडिकल अफिसरसहित १७ जना र १५ शय्याको अस्पतालमा तीनजना मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मी खटिनेछन्,’ उनले भने ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *