ब्रेकिङ्ग राष्ट्रिय

बालक बलि प्रकरण : धनुषामा बालकलाई बलि प्रदान गर्न उक्साएको आरोपमा झाक्री पक्राउ

टुडेपाटी समाचारदाता-
जनकपुरधाम, साउन ३२ गते ।

यौनशक्ति बढाउन बालकलाई बलि प्रदान गर्न प्रोत्साहित गरेको आरोपमा एक झाक्री पक्राउ परेका छन् । धनुषाको मिथिला नगरपालिका ६ बस्ने सम्भु साहका अढाई वर्षीय छोरा आर्यन साहको बलि प्रकरण घटनामा मुछिएपछि फरार रहेका ५५ वर्षका झाक्री जंगली महतो पक्राउ परेका हुन् ।

उनी मिथिला नगरपालिका ७ कुसुमबिसौनाका चर्चित झाक्री हुन् । घटनापछि फरार झाक्री महतोलाई बिहीबार रक्षाबन्धनको दिन घरबाटै ईलाका प्रहरी कार्यालय ढल्केबरले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ झाक्री महतोमाथि अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले टुडेपाटीलाई जानकारी दिए ।

यौनशक्ति बढाउन भन्दै धामीझाँक्री सिक्दै गरेका छिमेक ५५ वर्षका सत्रुधन महतोले गत वैशाख २३ गते राति बालक आर्यनलाई घरेलु हतियार प्रयोग गरी घाँटी रेटेर बलि दिएका थिए । घटना पश्चात जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरी र संघीय प्रहरी ईकाइले संयुक्त रुपमा ६५ जनालाई नियन्त्रणमा लिएर गरेको सूक्ष्म अनुसन्धानको क्रममा छिमेक झाक्री सत्रुधन महतोले यौनशक्ति बढाउन बालकको बलि दिएको खुलासा भएको थियो ।

उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले गत जेठ १६ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । सत्रुधनले आफुलाई झाक्री सिकाउने छिमेक गाउँका झाक्री जंगली महतोले यौनशक्ति प्राप्त गर्न एवं झनै शक्तिशाली बन्न बालकको बलि प्रदान गर्न भनेपछि यस्तो घटना घटाएको प्रहरीमा बयान दिएका थिए । त्यस पश्चात झाक्री जंगली महतो फरार भएका थिए ।

आमा घाँस लिन गएको बेला गत वैशाख २३ गते आफ्नै घरको दैलोमा खेलिरहेको अवस्थामा वेपत्ता भएका अढाई वर्षे बालक अर्यनको शव भोलिपल्ट स्थानीय कृष्णानन्दन महतोको बारीको झाडीमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा फेला परेको थियो । त्यसपछि प्रहरीको अनुसन्धानको क्रममा बालकालाई शक्तिशाली झाक्री बन्न छिमेक शत्रुधनले बलि प्रदान गरेको खुलासा भएको थियो । बलिप्रदान गर्ने झाक्री सत्रुधन महतो जिल्ला अदालत धनुषाको आदेशमा गत असार ९ गते पूर्वपक्षको लागि जलेश्वर कारागार चलान भइसकेका छन् ।

यस अघिका सम्बन्धित समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्

धनुषामा अढाई वर्षीय बालकलाई बली दिने झाक्री जेल चलान

धनुषामा यी झाक्रीले यसरी दिए अढाई वर्षीय बालकको बलि (भिडियो सहित)

धनुषामा दुधेबालकको घाँटी रेटी हत्या, घरपछाडिको आँप बगैँचामा भेटियो शव

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *