TodayPati

सहिदनगरमा बालविवाह विरुद्ध अभियान चलाउँछु : मेयर बरबरिया

टुडेपाटी-
जनकपुरधाम, फागुन १७ गते ।

धनुषाको सहिदनगर नगरपालिकाका मेयर उदयकुमार बरबरियाले बाल बिवाह विरुद्धका अभियान नगरको नीति तथा कार्यक्रममा राख्ने बताएका छन् ।

सेफ नेपालको आयोजनामा बाल विवाह र कानूनी पहिचान विषयक जनप्रतिनिधिसँग अन्तर संवाद कार्यक्रममा आगामी नीति तथा कार्यक्रम मार्फत बाल विवाहविरुद्धको नारा गुञ्जाउने बरबरियाले बताए ।

Sponsored

उनले भने, ‘संविधान र कानूनभन्दा माथि कोही पनि रह्नु हुँदैन । तर, समाजमा रहेका विकृति तथा प्रथाहरुलाई विस्तारै समाजबाट विस्थापित गर्नु आजको आवश्यकता हो ।’

समाजिक संघ संस्था, स्थानीय बुद्धीजीवि, नागरिक समाज, युवा क्लव, महिला समुह र सुरक्षा निकायसँगको समन्वय र सहकार्यमा बाल बिवाह न्यूनिकरण गर्न सकिनेउनले प्रष्ट पारे ।

विवाहको लागि उमेरको हदम्याद १८ वर्ष हुनु पर्ने वडा अध्यक्षहरुले माग गरेका छन् । ‘मधेशमा छोरीहरु १५/१६ वर्षकै उमेरमा भाग्ने गरेको र केटी पक्षले केटा पक्षमाथि विभिन्न आरोपमा मुद्दा दर्ता गराउने, बलात्कार, अपहरण तथा शरीर बन्धक लगायतका मुद्दा हालेर समस्या उत्पन्न गराउने गर्छ ।’

Sponsored

मुलुकी देवानी सहिंता, २०७४ को विवाह सम्बन्धी महलले केटा र केटी दुवैको २० वर्ष उमेर नपुगी विवाह गरेमा अपराध र दण्डनीय भनिए पनि यसको कार्यान्वयन राज्यले गर्न सकेको छैन । सेफ नेपालको बाल विवाह विरुद्धको अभियानले विगत डेढ वर्षदेखि जिल्लाका दुईवटा पालिकामा सञ्चालनमा रहेको छ ।

शहिदनगर र गणेशमान चारनाथ नगरपालिकामा बाल विवाहको वस्तुगत अवस्थाको वेश लाइन सर्भे गरी काम गरिरहेको सेफ नेपालका टिम लिडर तथा मानवअधिकारकर्मी विनोद महराले बताए ।

दुवै पालिकामा बाल विवाह उच्च रहेको छ । १४ देखि १९ वर्ष उमेर समुहमा करिव ८०.८७ प्रतिशतले बाल विवाह गरिरहेको सेफ नेपालको अनुसन्धानले देखाएको छ ।

गणेशमान चारनाथ नगरपालिका ११ को वडाध्यक्ष दायाराम यादवले आफ्नो वडामा बाल विवाह भइरहेको सूचना पाएपछि उनले विवाह नगर्न आग्रह गरेका थिए ।

बिवाह भइरहेको सूचना पाएपछि केटी पक्षलाई छोरीको उमेर नपुगेकोले विवाह नगर्न अनुरोध गर्ने गरेको र नमान्नेलाई वडाध्यक्ष दायाराम यादवले भन्छन्– ‘कम उमेरमा विवाह गरेमा वडा कार्यालयले भोलि जन्म प्रमाणित गर्न सक्दैन त्यसमा दुख नमान्नु ।’ सूचना आएको खण्डमा बाल विवाह रोक्न न्यायिक समिति सक्रिय रहने प्रतिवद्धता उपमेयर मिना यादवले व्यक्त गरिन् ।

वडास्तरीय बाल बिवाह विरुद्ध अभियान संचालन गर्न बाल बिवाह नियन्त्रण समिति बनाउनु पर्नेमा वडाध्यक्षहरुले जोड दिए । ‘बाल विवाह सामाजिक विकृति हो, यसलाई हटाउनु पर्छ र जनतालाई कानूनको बारेमा जानकारी पनि गराउनु पर्ने हाम्रो जिम्मेवार र दायित्व रहेको छ ।’, वडाध्यक्ष यादवले भने ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *