TodayPati

प्रदेश २ : विदेशबाट युवाहरुले पठाएको करोडौँ रुपैँया लिएर आइएमई संचालक दाजुभाई फरार

शुभ नारायण यादव-

सप्तरी, फागुन २० गते ।


विदेशमा आफन्तले कमाएर पठाएको विभिन्न व्यक्तिको करोडौँ रुपैयाँ लिएर राजविराजका चर्चित व्यपारि, जग्गा कारोबारी तथा एक र्फमका संचालक दाजुभाई फरार भएका छन् ।

Sponsored

राजविराज ७ स्थित गजेन्द्र चौकमा कपडा पसल र छेउमे आइएमइको शाखा समेत खोलेर कारोबार संचालन गर्दै आएका सुनिल सिंधि र उनका भाई संजय सिन्धी चारदिनदेखी करोडौं रकम लिएर सम्पर्कबिहीन भएका हुन् ।

आफ्नो नाममा भएको सबै सम्पत्ति गोप्य ढंगले बिक्रि गरिसकेका सिन्धी दाजुभाई ठूलो रकम हिनामिना गरि फरार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

सिन्धी परिवार सप्तरीमै एउटा प्रतिष्ठित ब्यापारीको रुपमा गनिंदैआएका थिए ।
सिन्धी दाजुभाईले आईएमईमा आएका रकम सम्बन्धित ब्यक्तिलाई भुक्तानी गर्नुपर्नेमा कम्प्यूटर र इन्टरनेटमा समस्या आएको भन्दै कतिपय गाउँघरका सोझा सेवाग्राहीको रकम आईडी लिई औठाछापसमेत लगाएर भोली पर्सी आउनु भनि फर्काएका थिए ।

Sponsored

तर, पछिल्लो तीन दिनदेखि सिन्धी दाजुभाईले राजविराजमा सञ्चालन गर्दैआएको आईएमईको कार्यालयसमेत बन्द भएपछि मात्र उनीहरु फरार भएको तथ्य सार्वजनिक भएको हो ।

‘मलेसियाबाट छोरा प्रमोदले आईएमई माफ्र्त पठाएको २ लाख १८ हजार रुपैयाँ आफुले पाउन सकेन’, बुधवार जिल्ला प्रहरी कार्यालयमा आफ्नो रकम लिएर आईएमई सञ्चालक फरार भएको भनि उजुरी दिन गएका सप्तरी विष्णुपुर गाउँपालिका वडा न.७ का बिन्देश्वर मण्डलले भने, ‘कम्प्यूटर र नेटमा समस्या रहेको भन्दै सुनिलले रकम भुक्तानी आईडीमा पहिले नै साईन गराएको थियो र दिनहु रकम लिन आउन भनेको थियो, तर बुधवार आउँदा त उनीहरु फरार भएको थाहा पाउँदा आफ्नो बिचल्ली भएको छ ।’

छोराले विदेशमा पसिना बगाएर कमाएको रकम लिएर यसरी फरार हुनेको खोजी गरी रकम फिर्ता र कारबाहीसमेत गर्न स्थानीय प्रशासनसमक्ष उनले माग गरेका छन ।

रकम नपाउनेमा मण्डल मात्र छैन, मण्डलसँगै डाँक्नेश्वरी नगरपालिका २ की लालो खातुनले पनि सोही आईएमईबाट ९ लाख रुपैयाँ पाउनुपर्ने हो ।

तर, उनले पनि उक्त रकम पाउन नसेकेको गुनासो गरिन् । लालोका छोराले कतारबाट बहिनीको बिहे गर्न ९ लाख रुपैयाँ आईएमई गरेका थिए ।
यसैगरी विष्णुपुर गाउँपालिकाकै रामप्रित यादव, महदेवा गाउँपालिकाका विनोद मण्डल, श्यामादेवी मण्डल, राजगढ गाउँपालिकाका दिनेश मण्डल, डाँक्नेश्वरी नगरपालिका ५ का महेश महतो, राजविराज नगरपालिका २ का श्रवण दाससहितकाको दुई करोड बढी रकम सिन्धी दाजुभाई लिएर फरार भएका छन् ।

यसबाहेक पनि आफ्नो रकम भुक्तानी नगरी सिन्धी दाजुभाई फरार भएको भनि गुनासो गर्नेहरुको संख्या बढ्दै गएको छ । यता आईएमई सञ्चालक सिन्धी दाजुभाईले रकम नदिई फरार भएको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिने पीडितहरुको संख्या पनि अत्यधिक देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाबारे जानकारी भएको जनाएको छ । ‘आईएमई सञ्चालकले रकम लिएर फरार भएको भनि उजुरी आईरहेका छन्’, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एव डीएसपी भुवनेश्वर साहले , ‘हामीले उजुरी लिंदै आवश्यक अनुसन्धान पनि अगाडी बढाएका छौं ।’
आईएमई सञ्चालक सिन्धी दाजुभाईमध्ये दाजु संजय सिन्धी राजविराज जेसिजका पूर्व अध्यक्षसमेत हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *