फाईल फोटो
मुख्य-2 राजनीति

प्रदेश २ को नवनियुक्त राज्यमन्त्रीका विषयमा राजपाभित्र विवाद

जनकपुरधाम, साउन २४ गते ।
राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले प्रदेश सरकारमा पार्टीको भागबन्डाका तीन राज्यमन्त्री पठाएपछि विवाद सुरु भएको छ । ठाकुरले एकलौटी गरेको भन्दै अध्यक्षमण्डलका अन्य सदस्यले विरोध जनाएका छन् ।
राज्यमन्त्री पठाउने विषयमा संयोजकले अध्यक्षमण्डलका सदस्यहरूसँग कुनै परामर्श नगरी एकलौटी निर्णय गरेको भन्दै राजेन्द्र महतो, महेन्द्र राय यादव र शरत्सिंह भण्डारी रुष्ट भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार अध्यक्षमण्डलका महतो, यादव र भण्डारीसँग ठाकुरले सल्लाह नगरी नाम पठाएका हुन् । प्रदेश सभाको समानुपातिकमा सिट नदिइएका मुस्लिमलाई राज्यमन्त्री बनाउनुपर्ने असन्तुष्टहरूको माग थियो ।
यसअघि अध्यक्षमण्डलका ६ सदस्यले आफूनिकटलाई मन्त्रिमण्डलमा पठाउन खोजेपछि पटकपटक विवाद भएको थियो । राजपाले प्रदेश सरकार गठनको पाँच महिनासम्म पनि राज्यमन्त्रीको नाम दिन सकेको थिएन ।
राजपाको भागमा परेका तीन मन्त्रालयमध्ये संयोजक ठाकुरनिकट जितेन्द्र सोनल भौतिक पूर्वाधार तथा विकासमन्त्री छन् । उनी नै संसदीय दलका नेता पनि हुन् । त्यसैगरी, राजेन्द्र महतोनिकट नवलकिशोर साह सामाजिक विकासमन्त्री र महेन्द्र यादवनिकट रामनरेश राय यादव उद्योग पर्यटन वन तथा वातावरणमन्त्री छन् ।
त्यसैगरी, नवनियुक्त राज्यमन्त्रीहरूमा राजकिशोर यादवनिकट सुरेश मण्डल उद्योग, पर्यटन, वन तथा वातावरण, अनिल झाकी श्रीमती डिम्पल झा भौतिक पूर्वाधार र संयोजक ठाकुरनिकट अभिराम शर्मा सामाजिक विकास राज्यमन्त्री छन् । तर, अध्यक्षमण्डलका सदस्य शरत्सिंह भण्डारीको कोटामा एकजना पनि नभएपछि उनी संयोजक ठाकुरसँग रुष्ट देखिएका छन् ।
राजपाका उपाध्यक्ष तथा भण्डारीनिकट मानिने जयनुल राइन पाँच महिनाअघि नै मन्त्री बन्ने चर्चा थियो । तर, संयोजक ठाकुरले उनलाई पछि राज्यमन्त्री बनाउने आवश्वासन दिएका थिए । तर, उनलाई भारतीय दूतावासले दबाब दिएको भन्दै संयोजक ठाकुरले मन्त्री बनाएनन् ।
प्रदेश सांसद जयनुल राइनमाथि लगाएको आरोप निराधार रहेको राजपामा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले बताए । नेता राइनलाई बदनाम गर्ने षड्यन्त्रण भइरहेको उनको भनाइ छ ।
भारत देखाएर राइनलाई रोकियो
राजपाका उपाध्यक्ष तथा भण्डारीनिकट मानिने जयनुल राइनलाई आश्वासन दिएर पनि संयोजक महन्थ ठाकुरले मन्त्री र राज्यमन्त्री नबनाएपछि राजपामा विवाद चर्किएको हो । ठाकुरले भारतीय दूतावासले मन्त्री नबनाउन दबाब दिएको भन्दै उनलाई रोकेका थिए । ठाकुरको जवाफपछि शरत्सिंह भण्डारी दूतावास नै पुगेको स्रोतको भनाइ छ । दूतावासले कुनै दबाब नदिएको जनाएपछि भण्डारी ठाकुरसँग रुष्ट भएका हुन् ।

राइनलाई बदनाम गर्ने षड्यन्त्र
प्रदेश सांसद जयनुल राइनलाई बदनाम गर्न अनेक आरोप लगाइएको हो । उहाँको राजनीतिक करिअर नै समाप्त गर्ने हिसाबले षड्यन्त्र भएको छ ।
राजेन्द्र महतो, अध्यक्षमण्डलका सदस्य

mm
नितीशकुमार यादव
उहाँ टुडेपाटीका धनुषा प्रतिनिधि हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *