TodayPati

सर्लाहीका चीनी मिलले उखु किसानको पैसा दिएन, पैसा माग्ने क्रममा झडप हुँदा ११ जना घाइते


टुडेपाटी-

सर्लाही, वैशाख २९ गते ।

सर्लाहीमा उखु किसान र प्रहरीबीच झडप भएको छ । उखु किसानको भुक्तानीको विषयमा विवाद उत्पन्न हुँदा धनकौल गाउँपालिकामा भएको झडपमा ११ जना घाइते भएका हुन् । ऋण काढेको रकमबाट खेती गरेका किसानले लागातार तीनवर्षसम्मको भुक्तानी नपाउँदा विगतदेखि नै आन्दोलन गर्दै आएका छन् ।

Sponsored

यसैक्रममा धनकौल गाउँपालिका–६ मा रहेको अन्नपूर्ण चिनी उद्योगमा मौज्दात रहेको चिनी बिक्री वितरण गर्नका लागि लैजाने भन्दै गतरातमा आएका ६ वटा ट्रकलाई स्थानीय उखु उत्पादक किसानले नियन्त्रणमा लिएका थिए । बिक्री गरेको उखुको भुक्तानी नदिएसम्म ट्रक नछाड्ने अडान किसानले लिएका थिए ।

इलाका प्रहरी कार्यालय हरकठवा र बसबरिया प्रहरी चौकी भवानीपुरमा किसानले नियन्त्रणमा लिएका ट्रक राखिएको छ । हरकठवामा रहेका चारमध्ये दुईवटा ट्रकमा चिनी लोड छ भने दुईवटा खाली रहेका छन् ।

यस्तै भवानीपुरमा रहेका दुवै ट्रकमा चिनी लोड छ । प्रहरी कार्यालयमा थन्किएका ट्रक छाड्ने र किसानको बाँकी भुक्तानी दिलाउने विषयमा छलफल भइरहेको समयमा दुई पक्षबीच झडप भएको सर्लाहीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक विश्वमणि पोख्रेलले जानकारी दिए ।

Sponsored

२०७० सालदेखिको करिब १२ हजार उखु उत्पादक किसानको करिब रु ४० करोड सो उद्योगले भुक्तानी नदिँदा उखु उत्पादक किसान निरास भएका छन् ।

बन्दाबन्दीको समयमा चिनी उद्योगबाट भुक्तानी पाइएला र घर व्यवहार धान्न सहज होला भन्ने आस गरेका उखु उत्पादक किसान झन निरास भएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *