TodayPati

दिलीप महतोको हत्या भएको क्रसर पुनः सञ्चालन गर्न पूजापाठ

टुडेपाटी-
जनकपुरधाम, असार १५ गते ।

पर्यावरण अभियन्ता दिलीप महतोको हत्या भएको क्रसर संचालनमा आउन लागेको छ । मिथिला नगरपालिका ५ श्रीपुर स्थित औरही खोलाको छेउमा रहेको चुरियामाई वालुवा प्रशोधन उद्योग पुनः सञ्चालनमा ल्यान लागिएको हो । सोही क्रसरकामा २५ पुस २०७६ मा श्रीपुरका २४ वर्षीय दिलीप महतोको हत्या भएको थियो ।

दिलीपको हत्याका मुख्य नाइके विपीन महतो चुरियामाइ वालुवा प्रशोधन उद्योगका सञ्चालक हुन् । उनी लगायत ७ जना पक्राउ परी धनुषा जिल्ला अदालतको आदेशमा पूर्वपक्षका लागि थुनामा छन् । घटना पश्चत उक्त क्रसर बन्द रहेको थियो । सो क्रसरमा पनि रगत र घटनाको प्रमाणहरु फेला परेको थियो ।

Sponsored

क्रसर दिलीपको हत्या घटनासंग सम्बन्धित रहेकाले बन्द अवस्थामा थियो । तर पुनः क्रसर सञ्चालनको लागि सोमबार पूजाअर्चना गरिएको मृतक दिलीपकी बहिनी लक्ष्मी महतोले बताइन् ।
दिलीपकी बहिनीले दुखेसो पोख्दै भनिन् ‘दाई दिलीपले अझैसम्म न्याय पाउनु भएको छैन । तर क्रसर सञ्चालनको निम्ति आज पूजापाठ भएको छ । त्यस क्रसरले हाम्रो पाँच कठ्ठा जग्गामा गिट्टी बालुवा थुपारेका छन्’

बन्द भएको चुरियामाइ बालुवा प्रशोधन उद्योग मिथिला नगरपालिका २ नक्टाझिजकै संजय यादवले पुनः सञ्चालनमा ल्यान लागेका हुन् । क्रसर सञ्चालनकै निम्ति आफुले सोमबार पूजाअर्चना गरेको टुडेपाटीलाई बताए । उनका अनुसार उक्त क्रसरमा विपीपन लगायत धनुषाकै लक्ष्मीनिया गाउँपालिकाका नरेश यादव र जनकपुरका रफिक राइनको समेत लगानी छ ।

दिलीपको घटना पश्चात विपीन लगायत पक्राउ परेपछि क्रसर बन्द रहेपनि प्रशासनले क्रसरलाई बन्द नगराएको संजयले दावी गरे । ‘क्रसरलाई प्रशासनले बन्द गराउने भनेर केहि पनि भनेको छैन । त्यसैल म पनि पार्टनरसीप भएर नरेश र रफिकसंगै क्रसर सञ्चालनको तयारी गरेको छु । र सोहिको लागि पूजाअर्चना गरे’ उनले भने ।

Sponsored

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पनि त्यो क्रसर सञ्चालनको विषयमा आफुलाई केहि जानकारी नभएको र यस सन्दर्भमा बुझेर मात्र केहि भन्न सकिने प्रतिक्रिया दिए ।
औरही तथा बसही खोलामा गाउँलाई जोखिममा राखेर निरन्तर भइरहेको अवैध उत्खननको विरुद्धमा लागेका दिलीपलाई टिपरले किचेर हत्या गरेका थिए । जघन्य घटना भएको क्रसर सञ्चालनमा आउन लागेपछि स्थानीयहरु चकित भएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *