TodayPati

मंसिरपछि चार महिना लगन छैन, विवाह गर्न आतुर युवा-युवती चिन्तामा

टुडेपाटी-

जनकपुरधाम, मंसिर १९ गते ।

कोरोना महामारीका कारण सरकारले जारी गरेको लामो लकडाउनमा विवाह गर्न नभ्याउने युवा–युवतीका लागि फेरि चिन्ताको विषय खडा भएको छ । हिन्दूधर्म अनुसार वर्षको ६ महिना हुने लगनगाँठो यसवर्ष एक महिना मात्र हुने भएको छ ।

Sponsored

यस वर्षको मंसिर महिनामा मात्र लगनगाँठो कसिने भएकाले उमेर पुगेका युवा युवतीका जोडीहरु धमाधम लगनगाँठो कसिरहेका छन् । मंसिरैमै लगन नजुर्ने जोडीहरु चिन्तित देखिएका छन् ।

मंसिरमा बिहे गर्न नभ्याउनेहरुले भने अब लगनका लागि चार महिना कुर्नुपर्ने भएको छ । यसपालि मंसिरदेखि बैशाखको बीचमा बिहेको लगन छैन । मंसिरमा पनि १५ गतेपछि मात्रै लगन निस्केका थिए ।

पञ्चाङ निर्णायक समितिको पात्रो अनुसार यस वर्षको मसिंरमा जुरेका बिहेका चारवटा साइतहरु मंसिर १६, २१, २२ र २६ गते मात्रै हुन् । १६ गतेको साइत गुज्रिइसकेको छ । अब २१, २२ र २६ गतेमात्रै साइत जुर्छ ।

Sponsored

मंसिरको साइत गुज्रिएपछि मुहूर्त जुराएर बिहे गर्न चाहनेले बैशाससम्म कुर्नुपर्ने जानकारहरु बताउँछन् । श्री पञ्चमी वा विवाह पञ्चमीमा बिहे गर्न साइत जुराउनुपर्दैन भन्ने मान्यता सही नभएको तोयानाथ पञ्चाङ्ग पात्रोमा लेखिएको छ ।

शास्त्रीय मान्यताअनुसार माघ १ गतेदेखि असार मसान्तसम्मका ५ महिना (चैतबाहेक) विवाहका लागि शुभ मानिन्छ । तर यसपटक पुस, माघ र फाल्गुन महिनामा विवाहको लगन नरहेको पञ्चाङ्ग निर्णायक समितिका सचिव सूर्य ढुंगेलले बताए ।

उत्तरायणका ५ महिना र मंसिरमध्ये पनि वृहस्पति र शुक्र अस्ताएको बेलामा विवाहरव्रतबन्ध गर्न मिल्दैन । यो वर्षको माघ महिनामा लगन नजुर्नुको कारण यिनै ग्रहको अस्त रहेकोले हो ।
यस वर्ष माघ महिनामा किन जुरेन त लगन रु सचिव ढुंगेल भन्छन्, ‘विवाहको लगनका लागि विभिन्न कोणबाट शुभ साइत जुराउनुपर्छ । यो वर्ष माघमा वृहस्पति र शुक्र अस्त भएकोले माघ र फाल्गुनमा विवाहको साइत जुरेको छैन ।’

माघ ४ गतेदेखि सुरु भएको वृहस्पति अस्त फाल्गुनको २ गतेसम्म जारी रहन्छ, माघमा नै सुरु हुने शुक्र अस्त भने वैशाख महिनाको पहिलो सातासम्म चल्ने भएकोले विवाहको लगन पनि मंसिरपछि एकैपटक वैशाखमा मात्रै जुर्न लागेको पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *