ब्रेकिङ्ग राजनीति

धनुषाको कमला नगरपालिकाकी उपमेयरले दिइन् राजिनामाको चेतावनी

दिपक कर्ण–
जनकपुरधाम,जेठ ०६ गते ।

धनुषा जिल्लाको कमला नगरपालिकाका मेयर रामउदगार गोईतले कामै नगरी कागजको भरमा करोडौं रुपैयाँ अनियमितता गरेको उपमेयरले आरोप लगाएकी छन । मेयर गोईतले नगरपालिकका लागि २२ वटा मोटरसाईकल र आफु र प्रशासकीय अधिकृत उमेश यादवका लागि २ वटा चारचक्का खरिद गरेपछि उपमेयर शिलादेवी मण्डलले विरोध गरेकी हुन ।

उनले सोमबार पत्रकार सम्मेलन गरेर आर्थिक बर्ष २०७४÷०७५ मा संघीय सरकारबाट प्राप्त भएको करोडौं रुपैयाँ मेयर गोईतले आफुखुसि दूरुपयोग गरेको आरोप लगाइन । उनले भनिन, ’कागजमा मात्र अधिकांश कामहरु भएको छ । जनप्रतिनिधीहरु जनताको काम गर्न निर्वाचित भएपनि मेयर गोईत व्यक्तिगत सुखसुविधामा लिप्त भएको आरोप समेत लगाईन ।
उपमेयर, वडाध्यक्ष र सदस्यलाई समेत सूचना नदिएर मेयर गोईतले गोप्यरुपमा आफूखुशी काम गरेको भन्दै सो कार्यको उनले कडा रुपमा विरोध समेत जनाइन । उनले पारदर्शी रुपमा काम नगरे नगरपालिकामै अनिश्चितकालिन ताला लगाउने चेतावनी समेत दिइन । उनले भनिन, ’मेयर गोईतले मलाई दैनिक २ हजारमा भाडामा गाडी लिएर प्रयोग गर्न भन्छन तर प्रशासकीय अधिकृत उनको आफ्नो नजिकको मान्छे रहेकाले उनको लागि लाखौको गाडी खरिद गरेर दिएका छन ।
उनले गत आर्थिक बर्ष २०७४÷०७५ देखि अहिलेसम्म जिन्सी शाखाबाट खरिद गरिएका सामानहको कुनै लेखाजोखा नभएको भन्दै सत्यतथ्य छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ध्यानाकर्षण समेत गराईन । अनुगमन समितिको संयोजक उपमेयर मण्डल भएतापनि विकास निर्माणको अनुगमन बिना नै मेयरले भुक्तानी दिएको मात्र नभई मनपरी ढंगले रकमको दुरुपयोग भएको भन्दै अख्तियारले छानविन गर्नुपर्ने उनले बताइन । उपमेयर मण्डलले आफु महिला भएकोले मेयरले आफुलाई सबै कुरामा बाईकट गरेर हिडन खोजेको दुःखेसो समेत सुनाईन । पत्रकार सम्मेलनमा स्थानीयहरुले समेत मेयर गोईतले आफ्नो अधिकारको दूरुपयोग गरी मनोमानी गरेको भन्दै आपत्ति जनाए ।
यता,सञ्चारकर्मीहरुले वास्तविकता बुझ्न नगरपालिकाको कार्यालयमा जाँदा मेयर,प्रशासकीय अधिकृत,लेखा र अधिकांश कर्मचारीहरुको कार्यकक्ष खाली देखिएको थियो । कार्यालयमा उपलब्ध अन्य कर्मचारीहरुसँग यस सम्बन्धमा प्रश्न गर्दा यहाँको दैनिक यस्तै अबस्था रहेको दुःखेसो सुनाएका थिए । नगरपालिकामा काम गराउन गएका सेवाग्राहीहरुसँग सोध्दा उनीहरुले पनि आफुहरु एक हप्तादेखि दौडधुप गरेपनि कार्यालयमा कर्मचारी नरहेकोले कामै नगराई घर फर्किनुपर्ने बाध्यता रहेको सुनाए ।
रोचक कुरा त के भने कमला नगरपालिकामा मेयर र उपमेयर दुबैजना नेपाली काँग्रेसबाट निर्वाचित भएका छन । तरपनि उनी दुबैजनाबिच मत मिल्न सकेको छैन ।

mm
दीपक कर्ण
उहाँ टुडेपाटीका जनकपुर प्रतिनिधिको साथै डेस्कमा बसेर समेत समाचार सम्पादनको काम गर्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *