TodayPati

सिरहामा दुई सातादेखि रोकियो स्वाब संकलन, संक्रमण फैलिने जोखिम

रासस-

सिरहा, असार १ गते ।

दुई सातादेखि सिरहामा कोरोना परीक्षणका लागि स्वाबको नमुना संकलन कार्य रोकिँदा संक्रमण थप फैलिने जोखिम बढ्दै गएको छ ।

Sponsored

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित राजविराज, जनकपुर, विराटनगर, वीरगञ्ज र काठमाडौँका कुनै पनि प्रयोगशालाले स्वाब लिन नमानेपछि सिरहामा गत जेठ १९ देखि स्वाब संकलन रोकिएको हो ।

‘न धरानले लिन मानिरहेको न त विराटनगर, राजविराज, जनकपुर र टेकुले लिन मानेका छन्,’ जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख विष्णुदेव यादवले भने, ‘हामीले स्वाब संकलन गरी परीक्षणका लागि खासमा जनकपुर र काठमाडौँ पठाउने हो तर जनकपुरले ‘अहिले स्वाब नपठाउनू’ भनेर पत्र नै पठाएको छ, टेकुले पनि स्वाब नपठाउनू भनेकाले रोकेका हौँ ।’

मुलुकको कुनै पनि प्रयोगशालाले परीक्षणका लागि स्वाबको नमुना लिन नमानेपछि जेठ १९ यता जिल्लामा स्वाब संकलन रोकिएको प्रमुख यादवको भनाइ छ । कोरोना भाइरस तीव्र गतिमा फैलिएको छिमेकी मुलुक भारतबाट दैनिक घर फर्किनेको संख्या बढ्दै गएको बेला परीक्षणका लागि स्वाब संकलन नै रोकिएपछि कोरोना संक्रमण थप फैलिने जोखिम बढेको प्रमुख यादवले बताए । 

Sponsored

‘‘हामीसँग अझै स्वाब संकलन गर्ने किट छ तर न त प्रयोगशालाले स्वाबको नमुना लिन मानेका छन् न त माथिबाट संकलन गर्न निर्देशन नै आएको छ,’ प्रमुख यादवले भने, ‘त्यसैले स्वाब संकलन रोकेर आरडिटी मात्र जाँच गरेर घर पठाउनुपर्ने बाध्यतामा पुगेका छौँ ।’ 

पछिल्लोपटक सिरहाबाट गत जेठ १७, १८ र १९ मा संकलन गरी पिसिआर परीक्षण गर्न ४२० को स्वाब पठाएकामा हालसम्म १५० को मात्र रिपोर्ट आएको छ । बाँकीको रिपोर्ट अझै आउन सकेको छैन । सिरहाका विभिन्न स्थानको क्वारेन्टाइनमा बसेकाहरुको स्वाब संकलन गरी परीक्षण गर्न पठाइएकाहरुको दुई सातासम्म पनि रिपोर्ट नआउँदा व्यवस्थापनमा समस्या भइरहेको जनप्रतिनिधिले गुनासो गरेका छन् ।

गत जेठ १७ मा स्वाब संकलन गरी पिसिआर परीक्षण गर्न पठाएकामा हालसम परीक्षण रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बसेकालाई घर पठाउने वा क्वारेन्टाइनमा नै राख्ने भन्ने अन्योल बढेको सिरहाको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष मेहताले बताए ।

‘दैनिक क्वारेन्टाइनमा आउनेको संख्या बढ्दै गएको छ,’ गाउँपालिका अध्यक्ष मेहताले भने, ‘तर स्वाब लिएकाहरुको समयमा रिर्पार्ट नआएपछि उहाँहरुलाई घर पठाउने कि क्वारेन्टाइनमै राख्ने भन्नेमा हामी आफैँ अन्योलमा परेका छौँ ।’ 

भारतबाट दैनिक घर फर्किनेको लर्कोले जिल्लाका लगभग सबै क्वारेन्टाइन भरिभराउ हुन लागेकाले अब आउनेलाई कहाँ व्यवस्थापन गर्ने भन्ने चुनौती बढेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईँले बताए । 

‘हामीसँग दुई हजार शय्याको क्वारेन्टाइन छ तर अहिलेसम्म करिब एक हजार ५०० भन्दा बढी व्यक्ति क्वारेन्टाइनमा छन्,’ प्रजिअ गुरागाईँले भने, ‘दैनिक आउने क्रम बढ्दै गएकाले अबको केही दिनभित्रै ती सबै क्वारेन्टाइन भरिन्छन् र त्यसपछि आउनेलाई कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने समस्या आउन सक्छ।’ त्यसैले अब आरडिटी जाँच गरेरै घर पठाउने गरी तयारी गरिरहेको प्रजिअ गुरागाईँले बताए ।

हालसम्म सिरहामा एक हजार ८४९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा ६४ जनाको पोजेटिभ र एक हजार ४४३ जनाको निगेटिभ गरी कुल एक हजार ५०७ जनाको मात्र परीक्षण रिपोर्ट आएको छ भने ३४२ जनाको रिपोर्ट अझै आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

आरडिटी किटबाट कुल एक हजार ७७७ जनाको परीक्षण गरिएकामा ६७ जनाको पोजेटिभ र एक हजार ७१० जनाको रिर्पोट निगेटिभ आएको जनाइएको छ । सिरहामा हालसम्म कोरोना भाइरस सङ्क्रमित ६४ मध्ये २० जना उपचारपश्चात निको भई घर फर्किसकेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *